दफा १८
लघु, घरेलु तथा साना उद्योगका लागि

१८.  लघु, घरेलु तथा साना उद्योगका लागि विशेष सुविधा एवं सहुलियत माथि दफा १७ मा उल्लेखित सुविधा तथा सहुलियतका अतिरिक्त लघु उद्यम, घरेलु तथा साना उद्योगहरूले देहाय बमोजिम सुविधा तथा सहुलियत थप पाउनेछन् ।

१८.१ लघु उद्यम व्यवसायहरूलाई अन्तशुल्क तथा आयकर, मूल्य अभिबृद्धि कर लगायत कुनै पनि किसिमका करहरू लाग्ने छैन ।

१८.२ अनुसूची–९, १० र ११ मा उल्लेख भएका अति अविकसित, अविकसित तथा कम विकसित क्षेत्रहरूमा स्थापित घरेलु उद्योगहरूलाई लाग्ने अन्तशुल्क र आयकर क्रमशः १२ वर्ष, ७ वर्ष र ५ बर्ष छुट दिइनेछ । आयकर लाग्ने रकममा त्यसपछिका वर्षहरूमा क्रमशः ७५ प्रतिशत, ६० प्रतिशत र ५० प्रतिशत आयकर छुट दिइनेछ । यसका अतिरिक्त नेपाल सरकारले समय समयमा तोक्ने राष्ट्रिय
प्राथमिकता प्राप्त वस्तुमा पाँच वर्ष र प्राथमिकता प्राप्त क्षेत्रमा स्थापित उद्योगहरूलाई १० वर्ष सम्म अन्तशुल्क तथा आयकर लाग्ने छैन ।

१८.३ अनुसूची – ६ मा उल्लेखित सबै प्रकारका परम्परागत तथा घरेलु उद्योगलाई आयकरमा ५० प्रतिशत छुट दिइनेछ ।
१८.४ उद्योगले आफ्नो उत्पादन वा उत्पादनमा प्रयोग गरेको कच्चा पदार्थ, सहायक कच्चा पदार्थ आदिमा तिरेको मु.अ.कर र अन्तशुल्क उत्पादित बस्तु निकासी गरेको परिमाणको आधारमा फिर्ता दिइने छ । त्यसरी फिर्ता हुने राजश्व  पाउन रीतपूर्वक दरखास्त दिएको साठी दिनभित्र निकासीकर्तालाई फिर्ता दिइनेछ । तर त्यस्तो रकम फिर्ता पाउन निकासी गरेको ४५ दिन भित्र दरखास्त नदिएमा फिर्ता दिइने छैन ।

१८.५ कुनै उद्योगले आफ्नो उत्पादन कोशेली घर तथा निर्यात गृहमा विक्री गरेमा त्यस्तो विक्री गरिएको वस्तु उत्पादन गर्न आयात गरिएको कच्चा पदार्थमा लागेको मु.अ.कर र तयारी वस्तुमा लागेको मु.अ.कर तथा अन्तशुल्क सो वस्तु निर्यात भएको परिमाणको आधारमा सम्वन्धित उद्योगलाई फिर्ता दिइनेछ । स्पष्टीकरणः यस खण्डको प्रयोजनको लागि “निर्यात गृह” भन्नाले नेपालभित्र स्थापित उद्योगको उत्पादनहरू संकलन गरी विदेशमा समेत निर्यात गर्ने उद्देश्यले तोकिए वमोजिम स्थापित कम्पनी, फर्म वा सहकारी संस्था सम्झनु
पर्छ र “कोशेली घर” भन्नाले परम्परागत नेपाली लघु, घरेलु तथा साना उद्योगहरूले स्थानीय कच्चा पदार्थ, सीप र श्रम प्रयोग गरी उत्पादन गरेका वस्तुहरूलाई बजारीकरण गर्न सघाउ पु¥याउने उद्देश्यले स्थापित बजार केन्द्र समेतलाई जनाउने छ ।

१८.६ उद्योगले प्रयोग गर्ने मेशीन, औजार, उपकरण, यन्त्र एवं कच्चा पदार्थमा र उत्पादनमा कुनै कर, शुल्क वा दस्तुर लाग्ने छैन । तर यस्ता उद्योगको उत्पादन कुनै कारणवाट स्वदेशमा विक्री गर्नु परेमा विक्री गरिएको परिमाणको आधारमा कर, शुल्क वा दस्तुर बुझाउनु पर्नेछ ।

१८.७ लघु उद्यम, घरेलु तथा साना उद्योगहरूलाई वित्तिय पहुँच पु¥याउन विद्यमान वित्तीय संस्था ऐनमा व्यवस्था भए अनुरूपको विपन्न वर्गको ऋण सुविधा लगायत ऋण लगानीका लागि विशेष वातावरण तयार गरिनेछ । यसका लागि वित्तिय संस्थाहरूलाई प्रोत्साहित गरिने छ ।

१८.८ लघु उद्यम, घरेलु तथा साना उद्योग ग्राम र साझा सुविधा केन्द्रका स्थानीय उद्योगलाई सहकारीमा आवद्ध गराई वित्तिय पँहुचको व्यवस्था गरिनेछ ।
१८.९ वित्तीय सेवा उपलब्ध हुन नसक्ने जिल्ला तथा गा.वि.स.हरूमा लघु उद्यमीहरूलाई सहकारीमा आवद्ध गराई समूह धितोमा ऋण उपलब्ध गराउन लघु उद्यम, घरेलु तथा साना उद्योग प्रवद्र्धन बोर्ड अन्तर्गत एक कोष खडा गरी थोक ऋण उपलब्ध गराइने छ ।
१८.१० सरकारले घोषणा गरेका विभिन्न नीति तथा कानूनी व्यवस्था अन्तरगत उपलब्ध गराइने सेवा सुविधाहरूको लागि आवश्यक हुने प्रक्रिया र कागजातहरू घरेलु तथा साना उद्योग विकास समितिका जिल्ला स्थित कार्यालयहरूबाटै तयार गराई उद्योगहरूलाई प्रदान गरिने व्यवस्था मिलाइने छ । माथि उल्लिखित सुविधा र सहुलियत मदिराजन्य तथा सूर्तीजन्य उद्योगहरूलाई प्रदान गरिने छैन ।